३ वैशाख, काठमाडौं । एकताका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक जोडी जस्तो भइसकेका थिए ।
असल मित्रतामा पनि देखिने दरार यी राजनीतिक जोडीमा पनि देखियो । ०७७ सालको सुरुवातदेखि चिसिएको सम्बन्ध अन्तत टुट्यो । अहिलेपनि धेरैलाई लाग्छ कि उनीहरुको ब्यक्तिगत सम्बन्ध कस्तो होला ? महिनाँैदेखि उनिहरुबीच एक्लाएक्लै भेट भएको छैन तर कहिलेकाँही फोन संवाद भने भइरहेको छ । शुक्रबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई फोन गरे । तर प्रचण्डले तत्काल बोल्न चाहेनन् । उनले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताए । यसअघि चैत २ गते पनि ओलीले नै प्रचण्डलाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए । पार्टी भित्र माधव नेपाल खेमाले चेपुवामा पार्दै लगेको समयमा ओलीले प्रचण्डसँग भेटका लागि प्रस्ताव राखेका थिए । प्रधानमन्त्री ओलीले पुष ५ गते संसद विघटन गरेयता ओली र प्रचण्डको एक्लाएक्लै भेट भएको छैन । त्यसयता फोन संवाद समेत नभएपनि, एमाले माओवादी केन्द्र ब्यूँतिसकेपछि भने चैत २ गते फोन संवाद भएको थियो । त्यसयता भने फोन संवाद समेत भएको थिएन । ०७४ सालको चुनावी गठबन्धन देखि ०७७ को सुरुवातसम्म ओली र प्रचण्डको मित्रता राजनीतिक उदाहरणको रुपमा समेत स्थापित हुन लागिसकेको थियो ।
माओवादी नेतृत्वको जनयुद्धको आलोचना गरेर नथाक्ने ओली र जनयुद्धका नेता प्रचण्डको त्यस्तो मित्रता पार्टी एकतापछि औपचारिकतामा बदलिएपनि संसद विघटन र त्यसपछिका महिनाहरुमा टुक्रा टुक्रा भयो । अझ, फागुन २३ गते सर्वोच्च अदालतले एकता नै भंग गरिदिएपछि ओली र प्रचण्ड अलग धु्रवका राजनीतिक पात्र भएका छन् । आलोचनाको मौका पाउने वित्तिकै वारपार गर्न चाहने उनिहरुले अहिले एकले अर्कोलाई नै नंग्याइरहेका छन् । शुक्रबार मात्रै पनि प्रचण्डले ओलीलाई देश बन्धक राख्न खोजेको गम्भिर आरोप लगाए । तर शुक्रबारै ओलीले भने प्रचण्डलाई फोन गरेका छन् । प्रचण्डले शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा सहभागी भइरहेका बेला ओलीले आफूलाई फोन गरेको बताएका हुन । प्रधानमन्त्री ओलीले शनिबारका लागि बोलाइएको सर्वदलिय वैठक अघि प्रचण्डलाई फोन गरेका हुन् । प्रधानमन्त्री ओली अहिले सरकार टिकाउन तातिएका छन् । जसपालाई आफ्नो समर्थनमा लिने प्रयासमा ओली तल्लिन छन् । प्रचण्ड भने जसपालाई लिएर कांग्रेससहितको संयुक्त सरकार बनाउने कसरतमा छन् । यहि तानातानका बीच ओलीबाट प्रचण्डलाई फोन गएको हो ।