५ वैशाख, काठमाडौं ।
आइतबार विहान राष्ट्रियसभा सदस्य र मन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा(बादल)ले आज साँझ नै गृहमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
राष्ट्रियसभा सदस्य पद गुमेपछि उनी मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका थिए । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्।
तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ ।
बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए ।
उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो । माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ ।
अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो।