माडीको अयोध्यापुरी रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्छः प्रचण्ड

माडीको अयोध्यापुरी रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्छः प्रचण्ड

५ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्।

उनले मन्दिर लगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षण गरे पश्चात् यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताए ।

आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले खुशी भएको जनाउँदै उनले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ।’

यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए।

यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ,’ उनले भने।

यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिङ्गो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो।

कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले भने, ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो।’

जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरेका थिए।

यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उनको सुझाव थियो।

सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढङ्गले लिनुपर्ने दाहालले बताए। माडी चितवनको क्षेत्र नं ३ मा पर्दछ। सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन्।

माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राखिने भएको छ।

मूर्ति राख्नका लागि निर्माण कार्य धमाधम भइरहेको छ। माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले सो क्षेत्रको निरीक्षण गरेका हुन्। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.