५ वैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्यबाट आज पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलको सांसद पद रिक्त गरेका थिए। सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वत रिक्त भएको छ।
बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए।
तर उनलाई आज अपरान्ह ५ बजे गृहमन्त्रीमा पुनःसपथ खुवाउने कार्यक्रम छ।
बादल नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए। उनलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ मा केन्द्रीय सदस्य बनाएका थिए।