गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिन्नः प्रधानमन्त्री

गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन सकिन्नः प्रधानमन्त्री

९ वैशाख, काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् ।

नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिए ।

 मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं ।

गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’ माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे ।

ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’

‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ उनले भने । २०७२ को भूकम्पमा बल्खुको कार्यालय क्षतिग्रस्त भएपछि एमालेले पार्टी कार्यालय धुम्बाराहीमा सारेको थियो ।

अहिले पुरानो पार्टी कार्यालय परिसरमा ओलीले शिलान्यास गरेको भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको एमालेले जनाएको छ । कार्यालय १३ रोपनी क्षेत्रमा फैलिने छ ।

नयाँ भवन शिलान्यास भएकै दिन बिहीबार एमालेको नयाँ पार्टी कार्यालय थापाथलीस्थित भाडाको घरमा सर्दैछ । बल्खु भवन तयार नभएसम्म थापाथलीबाट पार्टीको काम हुने एमालेले जनाएको छ ।

प्रधानमन्त्री ओलीले नै थापाथली स्थित पार्टी कार्यालय उद्घाटन गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.