११ बैशाख, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।
निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ ।
“हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, “निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ ।” तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उनले बताए ।
खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ । उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ । पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ । यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ ।