११ बैशाख , झापा । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् ।
ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।
जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो ।
जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताए ।
अस्पतालले गत आवको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग रु एक करोड २० लाख माग गरेको थियो ।
सरकारले दुई महिनाको रु ६० लाख मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताए ।
उनका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् ।