विराटनगर,असार ६
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
निर्वाचन आयोग नेपालद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य रहेको बताएका हुन् ।
मुख्यमन्त्री राईले तीनवटै तहको निर्वाचन एकै बर्षभित्र सम्पन्न गरेर २०७४ साल नेपालको ईतिहासमा ऐतिहासिक बर्षकोरुपमा अंकित भएको बताए । उनले ती निर्वाचनहरुको क्रममा देखिएका कमिकमजोरी केलाएर आगामी निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाईनुपर्ने बताए ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले ७ वटै प्रदेशमा बुधबारबाट निर्वाचन समिक्षा शुरु भएको जानकारी दिए । उनले २०७४ सालमा आयोगले स्थानीय,प्रदेश,संघीय र राष्ट्रपति उपराष्ट्रपति समेत गरेर एकबर्षभित्र विभिन्न ८ चरणमा निर्वाचन सम्पन्न गरेको बताए।
आयुक्त दाहालले सो क्रममा मतदाता संकलनदेखि मतगणनासम्म देखिएका चुनौती र समस्या केलाएर निर्वाचन प्रणाली थप प्रभावकारी बनाइने बताए ।
समिक्षा कार्यक्रममा प्रदेश एकका सबै निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरू, सबै जिल्ला अदालतका न्यायाधिश, प्रदेशसभा सांसदहरू,सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता छ ।
समिक्षा कार्यक्रम बिहीबार समापन हुने जनाईएको छ ।