१४ बैशाख, काठमाण्डौ । अक्सिजन उत्पादकहरूले आवश्यक सिलिन्डर उपलब्ध भए नेपाललाई पुग्ने अक्सिजन उत्पादन गर्न समस्या नरहेको जनाएका छन् । तर उत्पादनका लागि आवश्यक पूर्वाधारसहित सिलिन्डरको व्यवस्थापन हुनुपर्ने उनीहरूको माग छ ।
आफूहरूले पहिलेदेखि नै सिलिन्डर र अरू पूर्वाधारबारे सरकारको ध्यानाकर्षण गराएको भए पनि सरकारले वास्तै नगरेको नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव एवम् सगरमाथा अक्सिजन उद्योगका सञ्चालक नारायणदत्त तिमिल्सिनाले बताए ।
उनले देशभर रहेका २० वटै प्लान्ट निरन्तर सञ्चालन भएमा माग धान्न खासै समस्या नपर्ने बताउनुभयो । तर त्यसका लागि अहिलेदेखि नै उत्पादन बढाएर भण्डारण गरेर राख्नुपर्ने उनको भनाइ छ । अहिले कतिपय प्लान्ट मर्मत गर्नुपर्ने र उत्पादन भइहाले पनि भण्डार गरेर राख्ने ठाउँ नै नरहेको तिमिल्सिनाले बताए ।
सरकारले नेपालमा उत्पादन बढाउन उद्योगीलाई प्रोत्साहन दिने उद्देश्यले भन्सार छुट गर्ने निर्णय गरेको छ । तर अहिले अक्सिजन उत्पादनको भन्दा पनि सिलिन्डरको समस्या धेरै रहेकोले तत्काल ३० देखि ४० हजार सिलिन्डर आयात गर्नुपर्ने व्यवसायीको भनाइ छ ।