१७ बैशाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।
शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले अहिले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका हुन् । यद्यपी पहल जारी रहेको उनको भनाई छ ।
‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन’ उनले भने,‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’
यस्तै, देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । उनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको पनि बताएका छन् ।
‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदशीलता र अकर्मण्यता जिम्मेवार छ’ उनले भनेका छन्, ‘सररकार न विगतको गल्तीहरुबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।’ देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका छन् ।