युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो,५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए 

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो,५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए 

अफगानिस्तान, असार ७

अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ ।

अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् ।

बिहीबार उत्तरी प्रान्त फर्याबको एक जिल्लामा रहेको सुरक्षाचौकीमा तालिबान आतङ्ककारी समूहले आक्रमणमा गरी कम्तीमा १६ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

उक्त प्रान्तको प्रान्तीय परिषद्का उपप्रमुख सिब्घातुल्लाह सिलाबले सो आक्रमणको पुष्टि गरेका छन्।

त्यसैगरी अफगानिस्तानको पश्चिमी भागमा पर्ने दुइ प्रान्तमा रहेका सुरक्षा चौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ४५ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् ।

बाद्घिस प्रान्तको बाल मुर्घाब जिल्लामा पनि सैनिक पोष्टमा आतङ्ककारी आक्रमण भएको थियो । त्यहाँ कम्तीमा ३० अफगान सैनिक मारिएका छन् ।

सरकारी अधिकारीका अनुसार यस आक्रमणको क्रममा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो झडपमा परी १६ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य १५ जना घाइते भएका छन् ।

त्यसैगरी फराह प्रान्तमा भएको यस्तै आतङ्ककारी आक्रमणमा परी १५ सुरक्षा अधिकारी मारिएका छन् ।

यसप्रकार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षा अधिकारीमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए ।
सरकारले इद पर्वका लागि गरेको युद्धविराम गत मङ्गलबारको मध्यराति सकिएको छ । त्यसैगरी तालिबानले गरेको युद्धविरामको समय भने गएको सोमबार सकिएको थियो ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.