२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् ।
कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरे ।
गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गरे । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गरेका हुन् ।