२४ बैशाख, काठमाडौँ । दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल रहेको ठाउँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएको क्षेत्र पनि हो ।
आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएर बहुमत सांसदको हस्ताक्षरसहित फेरि मुख्यमन्त्री बन्न पोखरेलले गरेको दौडधुपमा जुन उकुसमुकुस थियो, त्योभन्दा धेरै उकुसमुकुस बेलझुन्डी अस्पतालमा देखियो ।
अस्पतालमा भर्ना भएका ५९ मध्ये ४० जना कोरोना संक्रमित अक्सिजन सकिएर दिनभरजसो फित्रिफित्री परे ।
प्रदेशका सांसद, मन्त्री र मुख्यमन्त्री दिनभर सत्ता जोगाउने र भत्काउने खेलकुदमा मग्न हुँदा प्रदेशभरि नै कोरोना संक्रमित शय्या र अक्सिजन अभावमा छटपटाइरहेका थिए ।
राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन र अस्पतालको अभावमा कोही पनि नेपालीले ज्यान गुमाउन नपर्ने घोषणा गरिरहेका बेला पूर्वी नवलपरासी देवचुली–१३ का कोरोना संक्रमित थिनप्रसाद काफ्लेले अस्पतालसम्म पुग्ने एम्बुलेन्ससमेत पाएनन् ।
परिवारका सदस्यले ट्र्याक्टरमा हालेर अस्पताल लैजाँदा बाटैमा ज्यान गुमाएका काफ्लेजस्ता कैयौं नागरिकको गुहार अहिले राज्यले सुनिरहेको छैन ।