२ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी दिए ।
शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका मन्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए ।
शनिबारको बैठकमा कुनै निचोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको संकट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले जानकारी दिए ।
पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।