५ जेठ, काठमाडौँ ।
सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका बेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्तिमार्फत प्रतिपक्षमा बस्ने जनाएका हुन् ।
जसपाको यो समझदारीले बहुमतको समर्थन लिएर सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई झट्का लागेको छ । यसले जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताअनुसार अघि बढ्नसमेत प्रधानमन्त्री ओलीलाई चुनौती खडा गरेको छ ।
जसपामा ठाकुर र यादवबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्नो पार्टीको नेतृत्वबाहेकको वैकल्पिक सरकारको पक्षमा पनि नलाग्ने समझदारी बनेको छ ।
प्रधानमन्त्री ओलीको पक्षमा लाग्ने कि वैकल्पिक सरकार बनाउने भन्नेमा ठाकुर र यादव पक्षबीच चर्केको शक्ति संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेको थियो । दुई दिनको अनौपचारिक संवादपछि जसपामा बनेको समझदारीले पार्टी एकता कायम राख्नुका साथै राष्ट्रिय राजनीतिलाई समेत तरंगित बनाएको छ ।