तनहुँमा शववाहनको अभावः डोजरले व्यवस्थापन गरिँदै संक्रमितको शव

तनहुँमा शववाहनको अभावः डोजरले व्यवस्थापन गरिँदै संक्रमितको शव

५ जेष्ठ, तनहुँ ।
तनहुँमा शववाहनको अभाव खड्किएको छ ।

जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने सङ्क्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताए । उनका अनुसार व्यास नगरपालिका बाहेकका स्थानीय तहमा शववाहन नहुँदा समस्या भएको छ ।

शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ । देवघाट– ५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्याएका हुन् ।

गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शववाहनको आवश्यकता भए पनि गाउँपालिकाको भौगोलिक अवस्थाका कारण शववाहन किन्ने योजना नबनाइएको बताए ।

देवघाटको वडा नं १, २, ३, ४ दुर्गम ठाउँ हो । त्यहाँ सङ्क्रमितको मृत्यु भयो भने पीपीई लगाएर आफन्तले शव बोकेर लैजानुपर्छ, त्यहाँ शववाहन लैजान सक्ने स्थिति छैन, थापाले भने ।

थापाका अनुसार गाउँपालिकासँग एम्बुलेन्स पनि छैन । व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ । नगर क्षेत्रभित्रका बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहन भाडामा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

नगरपालिकामा एउटा शववाहन छ तर त्यो पुरानो भएकाले जुनसुकै बेला धोका हुनसक्छ, त्यही भएर एउटा शववाहन भाडामा लिएका छौँ, उनले भने, ुसङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.