मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

मतदातालाई प्रभाव पार्ने खालको कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

१३ जेष्ठ, काठमाडौँ ।
निर्वाचन आयोगका पूर्व प्रमुखहरुले अब आउने बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्। पाँच जना पूर्वप्रमुखहरुले एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त आग्रह गरेका हुन्।

बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनीहरुले २०७८ साल कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने गरी ल्याउनु पर्नेमा जोड दिएका छन् ।

‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

विज्ञप्तिमा भनिएको छ ‘यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमा नै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

यिनै ५ पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले यसअघि पुष ५ को संसद विघटनमा पनि विरोध गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.