१२ जेठ, काठमाडौं ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताए ।
उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिए ।
सन्देशमा भनिएको छ, “राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ ।”
पूर्वप्रधानन्यायाधीश रेग्मीले ब्हुदलीय शासन प्रणलीमा नागरिक सर्वोच्चताको व्यँवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दल र नेतृत्वको अहम् भूमिका अपेक्षित र महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले सन्देशमा भनेका छन्, “राजनीतिक खिचातानी र कोभिडको महामारीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्यूह र कष्टकर जीवनयापन गर्न अभिशप्त रहँदै आएको छ । आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिइरहेछ ?”