१८ जेठ, काठमाडौँ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ ।
सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए ।
उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनुसार ठाकुर पक्ष गृह मन्त्रालयबिनै सरकारमा सहभागी हुन लागेको हो। सो समूहले गृह मन्त्रालयमा पाउनुपर्ने दाबी गर्दै आएका थियो ।
प्रधानमन्त्रीसँग वार्ता गर्न सोमबार जसपा अध्यक्ष ठाकुर, नेता महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पुगेका थिए।
‘प्रधानमन्त्रीज्यू ७ वटा मन्त्रालय दिन तयार हुनुभएको छ। हामीले ८ वटामा अडान राखेका छौं’, वार्तामा सहभागी एक सदस्यले भने, ‘त्यसैले ८ वटा मन्त्रालयमै सहमति भयो भने पनि हुन्छ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन् ।
प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर–महतो पक्षले आन्तरिक छलफल गरेको थियो । सरकारमा पठाउने नेताहरूबारे कुराकानी भएको स्रोतले बतायो ।
स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना छ। ठाकुर पक्षले उनलाई संसदीय दलको नेता बनाएको छ ।