१८ जेठ, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
एमाले स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखलाई गरेको पत्राचारबारे आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको आलोचना गरिएको बताए ।
‘साथीहरुलाई आलोचना गर्ने केही ठाउँ नै छैन कि जस्तो लाग्छ मलाई, केहीकेही नेताहरु हेर्दा मलाई बडो विरक्त पनि लाग्छ ।’
उनले भने, ‘राष्ट्रपति देशको रक्षक र संविधानको अभिभावक भएको हैसियतले उहाँले आवश्यक्ता अनुसार त्यो हैसियतलाई प्रयोग गर्नुहुन्छ । परराष्ट्र मन्त्रालयले निरन्तर काम गरिरहेको छ । कतिपय ठाउँमा प्रधानमन्त्रीले गरिरहनुभएको छ ।’
सर्वोच्च पदाधिकारी, संविधानको रक्षक र अभिभावकको हैसियतले राष्ट्रपतिले आफ्नो हैसियतलाई प्रयोग गरेको बताउँदै ज्ञवालीले न्यूनतम प्रोटोकल बुझ्न आग्रह गरेका छन् ।
खोप ल्याएर मानिसको जीवन रक्षा गर्नु अहिलेको पहिलो आवश्यक्ता रहेको उनको भनाई छ । ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् ।
उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’ उनले राष्ट्रपतिमाथि अनावश्यक टिप्पणी गर्नेतर्फ लक्षित गर्दै भने ।