२३ जेठ, काठमाडौं ।
पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट स्वच्छ र निष्पक्ष फैसला हुने विश्वास नरहेको बताएका छन् ।
आइतबार संवैधानिक इजलासमा उनले न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताए । प्रश्न उठी उठी श्रीमानहरुले बसेर फैसला गर्नुपर्ने कुनै बाध्यता नभएको खरेलको जिकिर छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेपछि कार्की र भट्टराईले अलग हुने राय सुनाएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताको आधारमा गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराई अटाएका छन्।
खरेलले इजलासमा बस्ने कि नबस्ने भन्ने विषय सम्बन्धित न्यायाधीशको रोजाइ हुनुपर्ने बताए । ‘मैले न्यायाधीशहरुको बारेमा बहस गर्न नपाए हुन्थ्यो भन्ने थियो। तर, गर्नै पर्ने अवस्था भयो।
इजलास गठनबारे किन प्रश्न उठ्यो भने अस्ति यो समाधान भएन। कार्की र भट्टराई श्रीमानले बोलेका कुराले केही गम्भीर प्रश्न उठाएका छन्, आदेश लेखेर रहनु हुन्छ भन्ने चाहिँ नरहने, अलग हुन्छु भन्नेहरुको इजलास बन्नु पर्ने किन भयो ?’ खरेलले भने ।
खरेलले संवैधानिक इजलास गठनको आधार पनि मागेका छन् ।