२१ दिनभित्र सम्पर्कमा नआए ललिता निवासको जग्गा सरकारको नाममा

२१ दिनभित्र सम्पर्कमा नआए ललिता निवासको जग्गा सरकारको नाममा

२४ जेठ, काठमाडौं ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ ।

मालपोत कार्यालयले २१ दिनभित्र सो जग्गा जग्गाधनीको नाममा आउनु नपर्ने कारण पेस गर्न भनेको छ । २१ दिनभित्र जवाफ पेस हुन नसके ती सबै जग्गा सरकारको नाममा हुने मालपोत कार्यालयले स्पष्ट पारेको छ ।

सरकारले २०७७ साल २० चैतको को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै सार्वजनिक सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

जग्गा किनबेचमा नाम जोडिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङ, मुख्य बिचौलियाको भूमिकामा रहेका रामकुमार सुवेदी, शोभाकान्त ढकाल, ढकालकी श्रीमती उमाकुमारी ढकाल, व्यापारी मनोजकुमार केडियालगायतको नाममा सूचना जारी भएको छ ।

२१ दिने सूचना जारी गरिएको मध्ये सबैभन्दा धेरै मुख्य बिचौलियका रूपमा रहेका शोभाकान्त ढकालको नाममा देखिएको छ । उनको र श्रीमतीको नाममा ३ हजार २ सय ७५ वर्गफिट जग्गा जफत गर्नुपर्ने मालपोत कार्यालयले उल्लेख गरेको छ ।

त्यस्तै, मीनबहादुर गुरुङको नाममा ६ सय ३२ वर्गफिट जग्गा र भाटभटेनी कम्पनीको नाममा २ हजार २ सय १४ वर्गफिट जग्गा जफत गर्न सूचना जारी भएको छ ।

सूचना जारी भएका मध्ये अधिकांशको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका मध्ये शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश गरेको छ । साथै प्रतिवादी मीनबहादुर गुरुङ विशेष अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।

सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिग्रहण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.