प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

२४ जेठ, काठमाडौं ।

प्रदेश–२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाएका हुन् ।

जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।

पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा महन्थ ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा गएसँगै यसको असर प्रदेश–२ मा पनि देखिएको हो ।

महन्थ ठाकुर पक्ष केन्द्र सरकारमा सहभागी भए लगत्तै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । त्यसलगत्तै संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई प्रदेश संसदीय दलको नेता बनाएको हो ।

राउतलाई जसपाका ५५ सांसदमध्ये ३६ जनाको साथ रहेको छ । अब प्रदेश–२ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने जसपा अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।यसबारे शीर्ष नेताहरुबीच सहमति भइसकेको नेताहरुले बताएका छन् ।

प्रदेश–२ मा अहिले कायम रहेका १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद रहेका छन् ।

महन्थ ठाकुर समूहले सहयोग नगर्दा पनि कांग्रेस र माओवादी केन्द्रको साथ पाउँदा मुख्यमन्त्री राउतको पक्षमा ६३ सांसद पुग्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.