बुटवल, असार १३
सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।
प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक बुधबार भने विपक्षीबिना नै बसेको हो । सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो ।
सभामुख पूर्णबहादुर घर्तीले आजको बैठक प्रतिपक्षबिना नै सभाको सञ्चालन गरेका थिए। विपक्षीको असन्तुष्टिका कारण आज १२ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला शुरु भएको थियो ।
प्रदेशसभा बैठक जारी रहेका बेला नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् । बैठकको शुरुमा बोल्दै नेकपाका प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको बताए । प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका १० जना प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए।
प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए । पार्टी संसदीय दलको आयोजनामा प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “प्रजातन्त्रको गहना भनेकै प्रतिपक्षी हो तर, सत्तापक्षले यसलाई अस्वीकार गर्नुभयो ।”
उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समावेशी र समानुपातिक तरिकाले बजेट विनियोजनको माग राख्दा सरकारले बेवास्ता र उपेक्षा गरेको आरोप लगाए। नेता पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा विरोध गर्ने बताए । काँग्रेसले विनियोजन विधेयकमा पनि ठूलो ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै विरोध गरेको छ ।
उनले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि छुट्याइएको बजेटको अपारदर्शी ढंगले ल्याइएको समेत आरोप लगाए । विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले सरकारले पटकपटक आफूहरुलाई झुक्याउने काम गरेको गुनासो गरे । उनले सरकारले प्रस्तुत गरेको बजेट कतै पोका बजेटका रुपमा आएको छ भने कतै साना साना आयोजनालाई खुद्रा बजेट छुट्याइएको छ भने ।
नेता हमालले सरकारले स्थायी राजधानी तोक्ने विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकामा आपत्ति जनाउँदै भने, “कति समयसम्म सुकुम्बासीजस्तो भएर बस्ने ?”
रासस