अग्रपङ्क्तिमा खट्ने खेल क्षेत्रका व्यक्ति पनि खोपको प्राथमिकतामा : मन्त्री तामाङ

अग्रपङ्क्तिमा खट्ने खेल क्षेत्रका व्यक्ति पनि खोपको प्राथमिकतामा : मन्त्री तामाङ

२६ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले आउँदा दिनमा कोभिड–१९ विरुद्धको खोपमा अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताउनुभएको छ ।

बुधवार नेपाल खेलकुद महासङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आउँदा दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका हुन् ।

उनले सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताए ।

उनले भने, ‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । आएको खोपको सीमितताका कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ ।

सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईँहरूले पाउनु हुनेछ । पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन ।

तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनु भएकालाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ ।

कोभिडसँगै अन्य उपचार कसरी सहज बनाउन सकिन्छ ? नागरिक उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौँ ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासङ्घले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाण्डौ उपत्यकामा पाँच हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

त्यसैगरी आउँदो दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्ने गरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासङ्घले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.