मुख्यमन्त्री पोखरेलले गरे विश्वासको मत नलिने संकेत

मुख्यमन्त्री पोखरेलले गरे विश्वासको मत नलिने संकेत

२९ जेठ, काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको छ।’

विश्वासको मत लिनुपर्ने अडान विपक्षी गठबन्धनले लिइरहेका बेला पोखरेलले भने सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा विपक्षीको अनुपस्थिति र सत्तापक्षको उपस्थितिले नै सरकार बहुमतमा भएको पुष्टि गर्ने दाबी गरेका हुन्।

‘सदनमा प्रदेश प्रमुखको सम्बोधन विपक्षीका साथीहरूले नबुझेरै हुन सक्छ, बहिष्कार गर्नुभयो। त्यही नराम्रोभित्र राम्रो कुरा पनि भयो। प्रतिपक्ष अनुपस्थित हुँदा सत्तापक्षका सदस्यको उपस्थित संख्याले सरकारसँग बहुमत रहेको पुष्टि गरिदियो’, पोखरेलले भने।

प्रदेश प्रमुखले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएको भन्दै विपक्षी गठबन्धनले गत मंगलबारको बैठकमा सांकेतिक रूपमा प्रदेश प्रमुखको विरोध गरेका थिए।

उनीहरूले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा दलगत रूपमा एकएकजना सदस्यलाई मात्रै बैठकमा उपस्थित गराएका थिए। विपक्षीको त्यही कार्यलाई मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा बहुमत पुष्टि गर्ने अस्त्रका रूपमा सदनमा व्याख्या गरे।

उनले बहुमत गुम्दाको दिन एक मिनेट पनि सत्तामा नबस्ने भन्नसमेत भ्याए। जसपाले कारबाही गरेर पदमुक्त भएका चार मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक बहुमत रहेको उनको दाबी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.