१ असार, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरसहित २२ वटा जिल्लामा जारी निषेधाज्ञा आउँदो ७ गतेसम्म लम्बिएको छ । अन्य जिल्लामा भने अवस्था हेरेर निषेधाज्ञा लम्ब्याइएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर, बाग्लुङ, डडेल्धुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, मोरङ, झापा, कैलाली, रौतहट, रुपन्देही, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा आउँदो ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो । यी २२ सहित सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।
काठमाडौँमा आजदेखि तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) बिहान ११ बजेसम्म खोल्न पाइने छ । यही समयमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि खोल्न पाइनेछ । यस्तै, दिउँसो ४ बजेपछि निर्माण सामग्रीका हार्डवेयर पसल पनि खोल्न पाइने छ ।
कृषि, मल, बिउ, कृषि औजारका पसल खोल्न पनि अनुमति दिइएको छ । अहिले खोटाङ र मनाङबाहेकका जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छोड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएको छ ।
कोरोना रोकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ ।