३ असार, काठमाडौँ । वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ ।
हेलम्बुमा हिजो राहत पुर्याउन सकिएको थिएन । बाढीबाट विस्थापितहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् । आज बिहान काठमाण्डौबाट सेनाको हेलिकप्टर गएपछि मेलम्चीमा राखिएको राहतका सामग्री हेलम्बुमा पुर्याइएको हो ।
‘अहिले हेलकप्टरमार्फत दुई पटक हेलम्बुमा राहत पुर्यायौँ, आज दिनभरि पनि आवश्यकता अनुसार त्यहाँ उद्धार तथा राहतको काम हुनेछ’ उद्धारमा खटिएका सेनाका निर्मल श्रेष्ठले भने ।
बाढीपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । एनसेल नम्बरमा फोन लागे पनि नेपाल टेलिकमको सेवा बन्द छ । सञ्चार सम्पर्क विच्छेद हुँदा बाढीबाट भएको क्षतिबारे पूर्ण जानकारी आउन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मङ्गलवार साँझ हेलम्बु गाउँपालिका–१ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडबक्समाथि पहिरो गइ नदी थुनिएर बाढी सुरु भएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो ।
त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यहीबेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय बासिन्दाले बताएका छन् । मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।
बाढीका कारण मेलम्ची बजार बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा धेरै असर परेको छ ।