३ असार, काठमाडौं।
बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताए ।
सेनाको हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँका मानिसलाई पनि उद्धार गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताए ।
बाढीका कारण मनाङको ताल गाउँ, चामे लगायतका ठाउँका झन्डै ६ सय जना विस्थापित भएका छन् । मङ्गलवार (अस्ति) आएको बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।
बाढीले तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृहमा पनि नोक्सानी गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।