काठमाण्डौ उपत्यकामा प्रशासन कार्यालयका काम आजदेखि नियमित

काठमाण्डौ उपत्यकामा प्रशासन कार्यालयका काम आजदेखि नियमित

८ असार, काठमाडौं ।

काठमाडौ उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन् ।

गएको वैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो । जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

कोरोना सङ्क्रमण जोखिम बढेपछि गएको वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायतका अत्यावश्यक सेवाबाहेक अरु बन्द भएका थिए । नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।

ललितपुरमा महानगरवासीले आइतवार, सोमवार र मङ्गलवार नागरिकता, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीका सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । त्यस्तै तीन गाउँपालिकाका बासिन्दाले बुधवार, गोदावरी र महालक्ष्मीनगरवासीले बिहीवार र शुक्रवार सेवा लिन पाउने छन् ।

सङ्घसंस्था दर्ता सोमवार र बुधवार तथा सङ्घसंस्था नवीकरण आइतवार, मङ्गलवार र बिहीवारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रवार हुनेछ । काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएको छ ।

अस्ति तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.