८ असार, काठमाडौं ।
यातायात व्यवासायीले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका छन् । लामो समय निषेधाज्ञा हुँदा सार्वजनिक यातायात क्षेत्र अति प्रभावित भएकाले स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरिएको हो ।
सुन्दर यातायातले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने सुझाव पेस गरेको छ । सो अवसरमा सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बारअनुसार अन्य क्षेत्र खुला गरिसकेपछि सार्वजनिक यातायात क्षेत्रलाई मात्र रोक लगाउनुको तुक नहुने सुन्दर यातायातले जनाएको छ । यातायातका अध्यक्ष भेषबहादुर थापाले भने “अरू क्षेत्र खुला भयो, सार्वजनिक यातायात क्षेत्रलाई किन रोकिरहनुप¥यो ?”
सार्वजनिक यातायात बन्द गर्दा यात्रु ठगिनु परेको सुन्दर यातायातले जनाएको छ । मनलाग्दी भाडा उठाएर निजी प्लेटका गाडीले यात्रु ओसारिरहेकाले ठगी रोक्न पनि सार्वजनिक यातायात खुला गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।
बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बैङ्कको किस्ता तिर्न नसकिरहेको र व्यवसायी तथा मजदुरले छाक टार्ने समस्या बेहोर्नुपरेको भन्दै यातायात खुला गर्न माग गरिएको व्यवसायीको दाबी छ । कोरोना महामारीको प्रभाव बिस्तारै कम हँुदै गएकाले अब सार्वजनिक यातायात खुलाउनुपर्ने व्यवसायीको दाबी छ ।