१२ असार, काठमाडौं ।
आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश–१, प्रदेश–२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो ।
आज दिउँसो र राति प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ।
पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेकोले सचेत रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको र अझै पानी पर्ने सम्भावना रहेको शाखाले जनाएको छ । बढी पानी पर्दा झापाका डुबान भइरहने होचा ठाउँहरुमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।