कोरोनाका कारण रोकिएको पोखरा महानगरको सेवा आजदेखि सञ्चालनमा

कोरोनाका कारण रोकिएको पोखरा महानगरको सेवा आजदेखि सञ्चालनमा

१३ असार, पोखरा ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।

जिल्लाका अन्य कार्यालयले समेत सेवा सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा सुरु गर्ने भएका छन् ।

केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।

जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्याङ्कबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.