१३ असार, रासस ।
कैलाली–बर्दिया जोड्ने सत्ती पुल कर्णाली नदीले कटान गरेपछि आवागमन रोकिएको छ ।
हुलाकी राजमार्गमा रहेको उक्त पुलको स्ल्याब कटान भएपछि आवागमन अवरुद्ध भएको हो । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ ।
सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्दथे । शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो ।
कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयको माग थियो । तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो ।
नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् ।