१४ असार, काठमाडौं ।
विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको छ ।
सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई प्रतिवेदन बुझाउन पर्नेछ ।
आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने पालिका वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोट आएमा सिधै गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ ।
घरमा बसेको ११ औँ दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा २ जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने भएको छ ।
नयाँ प्रावधान अनुसार, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् । तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।