१४ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गर्नुभएको छ ।
स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको बताएका हुन् । उनले कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको दाबी गरे ।
कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले भने नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो ।
उसै त अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो ।
नेपाली कांग्रेसले अँगालेपछि, त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् ।
अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्टि जनाए ।
उनले भने आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अभिवक्ताज्यूहरू तपाईँहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नु हुँदैन ?