१४ असार, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालीको समस्या नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु नपर्ने बताएका छन् ।
विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले भने, ‘नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनुपर्दैन । राष्ट्रप्रति, जनता, संविधान, कानुनको कमिटमेन्ट चाहिएको छ ।’
राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने उनको भनाई छ । नेपालले प्रधानमन्त्रीको बोलीप्रति कटाक्ष पनि गरेका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् ।’ नेता नेपालले भने, ‘म पनि खोज्दैछु । उहाँले धेरै राम्रा कुरा बोल्नुभएको छ, बौलाहा कुकुरले टोक्याछ भन्ने कुरामा ध्यान जाओस् ।’
नेता नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताए ।