१५ असार, काठमाडौं ।
सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो ।
निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आज (मंगलवार)देखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सबै सिटमा यात्रु राख्न पाउनेगरी स्वास्थ्य मापदण्ड अपनाएर बस चलाउन दिने निर्णय गरिएको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए । चालक, सहचालक र यात्रु सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने र दिनहुँ सवारीसाधन निःसंक्रमण गर्नुपर्ने प्रावधान राखिएको उनले बताए ।
प्रजिअहरूको बैठकले उपत्यकाभित्र जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका बस सञ्चालन गर्न दिने निर्णय गरेको छ भने नाकामा कडाइ गर्ने निर्णय गरेको छ ।
‘अत्यावश्यक ढुवानीका साधन, दुई जनासम्म कुरुवासहित बिरामी बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पास बोकेर आएका सवारीबाहेकलाई उपत्यका प्रवेशमा रोक लगाइनेछ,’ काठमाडौंका सीडीओ पराजुलीले भने ।
यसअघि वारअनुसार निश्चित समयसम्म मात्रै पसल सञ्चालन गर्न दिइएकोमा यो व्यवस्था हटाइएको छ । बिहान ११ बजेसम्म खाद्यान्न, दूग्ध, फलफुल, तरकारी, माछा मासु, खेलकुद तथा स्टेशनरी लगायतका पसल खोल्न दिइएकोमा मंगलवारदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा हार्डवेयर पसल बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय बैठकले गरेको छ ।