एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पदाधिकारी यथावत

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, पदाधिकारी यथावत

१६ असार, काठमाडौं ।
सत्तारुढ दल नेकपा एमालेको आन्तरिक राजनीतिक उतारचढावको समयमा निकै महत्वका साथ हेरिएको बुधबारको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटीको अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्दै सो कमिटी भंग गरेको हो ।

अब सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनकारी दिए । दशौं महाधिवेशन आयोजक कमिटी भंग भएसँगै एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी सक्रिय भएको छ ।

यो नै असन्तुष्ट बनेका माधव नेपाल समूहको प्रमुख माग थियो । अब संस्थापन पक्षको यो निर्णयपछि माधव समूहको परीक्षाको घडी भने सुरु भएको छ । उनीहरु वास्तविक रुपमा एमाले एकता चाहिरेका थिए कि थिएनन् भन्ने विषय अब बस्ने असार १८ को बैठकमा उनीहरुको उपस्थितीले उजागर गर्नेछ ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २ सय ३ सदस्यीय हो । तर, माओवादीसँग एकता हुँदा जेठ ३ मा ३८ सदस्य थपेर केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाइएको थियो ।

यस्तै, बैठकले पूर्वमाओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिए ।

भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेखेका थिए । उनी राष्ट्रिय सभा सदस्य हुन् । पूर्वमाओवादीबाट मनोनीत भएका नेताहरु भने एमालेको केन्द्रीय सदस्य छैनन् ।

ज्ञवालीका अनुसार यसअघि महाधिवशेन आयोजक कमिटीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरेको कारबाही स्वतः निष्क्रिय भएको छ ।

बैठकले कोभिड नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाइ खोप दिलाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका खेल्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने पनि निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेका हुन् ।

नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकले उनको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.