‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्र नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्र नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

१७ असार, काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपङ्क्ति (फ्रान्टलाइन) मा खटिएकाको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरू नष्ट गर्नु कला र कलाकारको अपमान भएको बताएको छ ।

कोभिड फ्रन्टलाइनरको सम्मानमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको चित्र बुधवार काठमाण्डौ महानगरपालिकाले मेटाएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

‘महामारीमा अग्रपङ्क्ति (फ्रन्टलाइन) मा सङ्घर्षरत योद्धाहरूको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सराहना गरिनुपर्दछ । त्यस विपरीतको व्यवहार निन्दनीय हुन्छ’, कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।

कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरूको सामूहिक चित्र दुई हप्ताअघि निर्माण गरेका थिए ।

युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक हप्ता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको कांग्रेसले बताएको छ ।

लिखित अनुमति लिएर, फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरूपको व्यवहार किमार्थ हुन नसक्ने कांग्रेसको भनाइ छ ।

‘काठमाण्डौको अनेक ठाउँमा थुप्रिएका फोहरले होइन त्यो चित्रले सहरको सौन्दर्यमा असर गरेको थियो ? के त्यो एउटा चित्रले सहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक व्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’, कांग्रेसले प्रश्न गरेको छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.