बाढी र पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प, नारायणघाट-मुग्लिङ सडक खण्ड फेरि बन्द

बाढी र पहिरोका कारण देशका १४ वटा सडक खण्ड ठप्प, नारायणघाट-मुग्लिङ सडक खण्ड फेरि बन्द

१८ असार, काठमाडौं ।

बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जनाएको छ । ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन छन् । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।

डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ ।

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ । यस्तै ठोरी–भरतपुर–मुग्लिङ आँबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर–चामे सडक खण्ड पनि ठाउँ–ठाउँमा बन्द छ ।

मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर–कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.