‘वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्छ’ – मुख्यमन्त्री नेपाली

‘वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्छ’ – मुख्यमन्त्री नेपाली

१८ असार, गण्डकी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले वित्तीय कारोबारलाई प्रविधिकरण गर्नुपर्ने बताएका छन् ।

नेपालमा डिजिटल प्रविधि मार्फत् सहकारीको आर्थिक कारोबार गर्ने गराउने उद्देश्यका साथ काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडद्वारा आज पोखरामा आयोजित कास्की सेवा केन्द्रको शुभारम्भ कार्यक्रममा उनले वित्तीय कारोबारलाई पूर्ण रुपमा प्रविधिकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न ढिलो गर्न नहुनेमा जोड दिएका हुन् । प्रविधिमा जोडिएर आफ्ना आर्थिक कारोबारलाई पारदर्शी, सर्वसुलभ एवम् सुरक्षित बनाउन उनले सहकारीलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाएको जानकारी दिए।

संस्थाले नेपालभर सातवटै प्रदेशका १५ जिल्लामा आफ्नो सेवा विस्तारका लागि सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी तीनवर्ष भित्र सहकारी मार्फत रु २० लाख व्यक्तिमा विद्युतीय कारोबार सेवाको पहुँच पु–याउने लक्ष लिएको उनले जानकारी दिए । उनका अनुसार सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० सहकारी संस्था आबद्ध भई पाँच करोड रुपैयाँ निक्षेप सङ्कलन भएको छ ।

हब कोअपरेटिभले सहकारीहरूमा राष्ट्रिय एवम अन्तराष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछर्यौट सेवा, क्लियरिंङ्ग, मोबाईल बैंकिंग, बैंक एवम् सहकारीबिच रकमान्तरण र विल भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको उक्त अवसरमा जानकारी गराइयो ।

जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईराला, नेफ्सकुन सञ्चालक कमला गिरी, तत्कालीन संविधानसभा सदस्य प्रकाश पौडेल लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.