मुग्लिङ–नारायणगढसहित विभिन्न सडक बन्द : मुग्लिङ–धादिङ खण्ड खुल्यो

मुग्लिङ–नारायणगढसहित विभिन्न सडक बन्द : मुग्लिङ–धादिङ खण्ड खुल्यो

१९ असार, काठमाडौं ।

लगातारको वर्षाका कारण मुग्लिङ–नारायणगढसहित विभिन्न सडक बन्द भएका छन् । बाढी पहिरोका कारण १७ ठाउँमा सडक बन्द रहेको छ । ५३ वटा सडक खण्ड भने एकतर्फी रुपमा खुलेका सडक विभागले जनाएको छ ।

मुग्लिङ–नारायणगढ सडकमा हिजो पहिरो हटाएको आधा घण्टामै फेरि पहिरो खसेपछि अहिलेसम्म सडक खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । तीन किलो, चार किलो र सेतीदोभानमा पहिरो खसेको छ । सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिरो हटाउन लागिपरेको पनि उनले जानकारी दिए ।

पहिरोले बन्द पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–धादिङ खण्ड भने बिहानदेखि खुलेको छ । कुरिनटार, घोप्टेभीरमा खसेको पहिरो हटाएपछि पोखरा–तनहुँ हुँदै काठमाण्डौ आउने जाने गाडी चलेका चितवनका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

यस्तै हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ पनि बन्द छन् । भीमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैँसे भीमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भीमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भीमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देराली, ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानी र कान्तिलोकपथ अन्तर्गत भीमफेदी–८ कोगटेमा पिच नै बगाएको छ भने ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत भैँसे पालुङ नौबिसे खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ र वडा नम्बर–१२ गैरीगाउँमा सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.