सुनसरी जलमग्न, कोशीमा पानीको मात्रा बढ्यो

सुनसरी जलमग्न, कोशीमा पानीको मात्रा बढ्यो

१९ असार, काठमाडौं ।

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, बस्तीहरु डुबानमा देखिएका छन् ।

इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढको छ ।

सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका बस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च मापन भएको छ ।

कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढि पानी बगिरहेको छ । सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको वहाव २ लाख २१ हजार ४ सय ७५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् ।

नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ति समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढे पनि खतरा भने नरहेको बताएका छन् ।

उनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.