२० असार, काठमाडौं ।
नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । गएराति १० बजे यो सडक खण्ड अन्तर्गतको चितवनको सेती दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो। उज्यालो भएसँगै डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार पहिरो खसिरहेकाले हटाउन समय लाग्ने छ । पानी परिरहेकाले सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसिरहेको उनले बताए । यस्तै, मुग्लिङ–नारायणगढ सडक खण्डका अन्य केही ठाउँमा पनि स–साना पहिरो गएको छ । ती ठाउँमा खसेको पहिरो भने हटाइएको प्रहरीले जनाएको छ ।