ओली–रावल भेटः नेपालसँगै छलफल गर्न रावलको आग्रह

ओली–रावल भेटः नेपालसँगै छलफल गर्न रावलको आग्रह

२१ असार, काठमाडौं ।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

ओलीकै आग्रहमा रावलले ओलीलाई आइतबार राती बालुवाटारमा भेटेका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनालको प्रतिनिधिको रुपमा ओलीसँग संवादका लागि बालुवाटारमा ओली–रावल भेट भएको ओली निकट एक नेताले बताए।

रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो। छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको श्रोतले बतायो।

‘मसँग छलफल गरेर केही हुनेवाला छैन, एकता चाहने हो भने वरिष्ठ नेता नेपालसँग नै छलफल र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन’, रावलको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो।

नेता रावलले बालुवाटार छलफलका सम्बन्धमा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन्।

संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा बुझाइएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटम सोमबार साँझ पाँच बजे सकिँदैछ।

तर एमालेको माधव समूहले कुनै हालतमा हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ। ओलीसँगको छलफलका क्रममा पनि नेता रावलले हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन्।

‘संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन’, रावलको भनाइ थियो। प्रधानमन्त्री ओलीले सोमबार साँझ पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिइसक्न चेतावनी दिएका छन्।

सर्वोच्चको फैसला आउनपूर्व हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने ओलीको चेतावनी छ। तर माधव समूहका नेताहरुले भने फिर्ता लिनका लागि हस्ताक्षर नगरिएको बताउँदै आएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.