२१ असार, काठमाडौं ।
काठमाण्डाैं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।
नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए ।
आवश्यक जनशक्ति र सामग्री पनि तयारी अवस्थामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । धोबी खोला, बल्खु खोला, वाग्मती, विष्णुमति नदीका किनारमा डुबान हुने कुरालाई ध्यान दिँदै त्यहाँ विपद् प्रतिकार्यका काम सुरु गरिएको पनि उनले बताए ।
उनले भने, नदी सरसफाइको काम केही ठाउँमा गरिएको छ र कति ठाउँमा लोकल र वडाबाट पनि याे नदी सफा गरिदिनुपर्याे डुबान हुन्छ भनेर सिफारिस आउँछ । हामीले कहीँ पनि डुबान भएछ, पनि भरिएकाे रहेछ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा नगर प्रहरी पनि छन् । गाडी, जनशक्ति, सामग्री पनि तयारी अवस्थामा राखेका छौँ ।
उनले बाढी आएको खण्डमा दुई सय नगर प्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । र्यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए । रेनकोट, बत्ती, गल, रुख काट्ने औजार र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।