मेरो चरित्र हत्या गर्न प्रचण्डले षडयन्त्र रचेः प्रभु साह

मेरो चरित्र हत्या गर्न प्रचण्डले षडयन्त्र रचेः प्रभु साह

२२ असार, विराटनगर ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अगुवाईमा कांग्रेसी गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन्।

छोरालाई क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै पूर्वमन्त्री साहमाथि एक जना अपरिचित महिलाले आरोप लगाएपछि मन्त्री साहले त्यसको खण्डन गरेका हुन्।

राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर प्रचण्डले केहि दिन अगाडि साङ्घातिक आक्रमण गर्न लगाएको र अहिले नीचता प्रदर्शन गर्दै महिलाको प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको पूर्वमन्त्री साहको भनाइ छ।

सोमबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस घटनाको खण्ड गर्दै सुनियोजित रहेको बताए। चरित्र हत्या गर्ने उद्देश्यले रचिएको निराधार, कपोलकल्पित घटनाबारे यथार्थ नबुझी तथ्य बिना समाचार सम्प्रेषण गर्ने संचार माध्यमको भुमिका प्रति उनले दुख व्यक्त गरे।​

क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै सुनियोजित रुपमा मेरो नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सर्वप्रथम, यी निराधार, कपोलकल्पित र निकै भ्रामक आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।

साथै, बिना कुनै तथ्य प्रमाण चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न र गराउन सबैमा आग्रह समेत गर्दछु।

पूर्वमन्त्री साहले फेसबुकमा लेखेका छन्, यो सबै राजनीतिक रुपमा स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्नेहरुले नीचता प्रदर्शन गर्दै रचेको षड्यन्त्र मात्र भएकोले यसमा प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न दोषीहरुलाई कानून बमोजिमको कार्यवाही गर्न माग समेत गर्दछु।

यस विषयमा थप प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री साहले आफ्नो चरित्र हत्या गरी ह्यारासमेन्ट गर्न प्रचण्डले षडयन्त्र रचेर सबै गराएको बताए। आफ्नो कुनै सम्बन्ध वा पहुँच नै नभएको देश पुर्याइदिने भनेर आरोप लगाउनु आफैमा अपत्यारिलो कुरा भएकोले ग्राण्ड डिजाइनमा सबै भएको स्पष्ट रहेको उनको भनाइ छ।

क्यानडा जस्तो देश जहाँ न त मेरो कुनै सम्बन्ध छ न त कुनै पहुँच छ, त्यहाँ पुर्याइदिने भनेर मैले पैसा मागेको रे। अनि ती महिलाले पत्याएर पैसा पनि दिइन् रे। मलेसिया कतार पुर्याउने त मेरो सामर्थ्य छैन क्यानडा त कहाँ हो कहाँ।

तर पनि प्रहरीले यसको अनुसन्धान गरोस् म दोषी भए सजाय भोगौँला। र यो देशमा कानुन छ भने यसरी झुटो आरोप लगाउनेलाई कारवाही हुनुपर्ने होला नि। पूर्वमन्त्री साहले भने, म कुनै विदेश पठाउने म्यानपावर कम्पनी खोलेर बसेको जस्तो लाग्छ?

यी सबै घटनाले स्पष्ट देखाउँछ कि जे जति भइरहेको त्यो एउटा ग्राण्ड डिजाइनको तहत भएको हो। तर दुःखद् कुरा के हो भने मिडियाहरु पनि त्यस्ता षड्यन्त्रकारीको गोटी बन्न पुगेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.