मनसुन फेरि सक्रिय : गण्डकी, लुम्बिनी, प्रदेश-१ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

मनसुन फेरि सक्रिय : गण्डकी, लुम्बिनी, प्रदेश-१ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

२३ असार, काठमाडौं ।

केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

सप्तरीको बर्मजिया र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो वर्षा भएकाले बाढीको खतरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । माउली खोलालगायत अन्य साना खोलाको तथा नदी तटीय क्षेत्रमा सतर्कता तहसम्मको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै सतर्क रहन आग्रह गरिएको छ ।

काठमाण्डौमा अहिले पानी नपरे पनि दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा ठूलो पानी पर्नेछ । प्रदेश–१ मा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । ५० देखि एकसय मिलिमिटर वर्षालाई भारी वर्षा र एक सय मिलिमिटरदेखि माथिको वर्षालाई अति भारी भनेर मापन गर्ने गरिन्छ ।

दिउँसो प्रदेश–१ मा मात्रै अति भारी वर्षाको सम्भावना रहे पनि राति भने यो प्रदेशसहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–२ मा नै अति भारीको सम्भावना रहेको मौसमविद् अर्यालले बताए । अबको दुई÷तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम छ । यसपालि औसतभन्दा धेरै पानी परेको पनि मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.