पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द

पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द

२३ असार, म्याग्दी ।

लगातारको पानीले बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको हो ।

पहिरोले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगङ्गा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडक खण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको बाढी तथा पहिरोले सडक हिलाम्मे भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले बन्द भएको छ ।

सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

बन्द सडक खुलाउन प्रयास गरे पनि निरन्तर पानी परिरहेको र सडकमा लेदो बगिरहेकाले समस्या भइरहेको उनले बताए । त्यस्तै बेनी–पोखरा सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा आएको बाढीका कारण गएरातिदेखि नै यो सडक खण्ड पनि अवरुद्ध बनेको छ ।

वर्षाले सुन्दरेखोलामा बाढी आएपछि निर्माणाधीन मध्यपहाडी राजमार्गमा क्षति पुर्याएको छ भने सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताए ।

गएराति म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा बाढीका कारण आएको पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.